पृथ्वीबहादुर शाहले नेपाल भित्र्याएको करिब ४० करोड रुपैयाँमध्ये ९ करोड रुपैयाँ ‘ठगी’बाट आर्जित
काठमाडौं, ७ वैशाख – अछामका पृथ्वीबहादुर शाहले नेपाल भित्र्याएको करिब ४० करोड रुपैयाँमध्ये ९ करोड रुपैयाँ प्रत्यक्ष रुपमा अपराधबाट सिर्जित लाभ भएको खुलेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयु) ले तयार पारेको विवरणपत्र अनुसार, उनले नेपाल भित्र्याएकोमध्ये ९ करोड रुपैयाँ ठगी, अपराध, राजस्व चुहावट र आपराधिक लाभबाट आर्जन गरी पठाएको देखिन्छ ।
सो विवरणपत्र अनुसार पृथ्वीबहादुर शाह, उनका भाइ र अरु केही व्यक्तिका नाममा आएको र भुक्तानी भएको रकम आपराधिक क्रियाकलापबाट आर्जन भएको विवरणमा उल्लेख छ । १९ चैत २०७७ मा एफआईयुले तयार पारेको प्रतिवेदनमा पृथ्वीबहादुरले त्यतिबेला करिब ३५ करोड रुपैयाँ नेपाल भित्र्याइसकेको उल्लेख छ । केही रकम उनी र सेरोफेरोका व्यक्तिले भुक्तानी लिए भने केही राष्ट्र बैंकको पत्रबाट रोक्का छ ।
त्यतिबेला नै ३५ करोड रुपैया नेपाल ल्याएकाले त्यसपछि ल्याइएको अरु रकम जोड्दा ४० करोड हुने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । विवरणमा नेपाल भित्रिएको ३५ मध्ये करिव ९ करोड रुपैयाँ आपराधिक क्रियाकलापबाट आर्जन भएको भन्ने उल्लेख छ ।
इकाइले तयार पारेको ५ पेजको प्रतिवेदन त्यतिबेला राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा पठाइएको थियो । त्यही पत्रका आधारमा पृथ्वीबहादुर लगायत उनका दर्जनभन्दा बढी कम्पनीको खाता अहिले रोक्का छ ।
कम्पनीहरुको खातामा अस्वाभाविक कारोबार भएको जानकारी प्राप्त भएको’ नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले तयार पारेको विवरणपत्रमा भनिएको छ, ‘सो खातामा विभिन्न कारण देखाई विदेशबाट रकम जम्मा भएको र उक्त रकम ठगीबाट कमाइ भएको उल्लेख भई फिर्ता माग गरेको देखियो । यसबारे संयुक्त राज्य अमेरिकाको फिनसेनले समेत इकाइलाई जानकारी गराएको ।’
नेपाल राष्ट्र बैंककाे अनुसार पृथ्वीबहादुर शाह र उनीसम्वद्ध कम्पनीहरुले १७ पटकको कारोबारमा भित्र्याएको करिब ९ करोड रुपैयाँ आपराधिक लाभबापतको भन्ने उल्लेख छ । अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन) ले उक्त रकम भुक्तानी रोक्न राष्ट्र बैंकलाई पत्र पठाएको थियो भने रकम फिर्ता दिनसमेत माग गरेको थियो ।
रकम भित्र्याउने काम मात्रै होइन, त्यसको भुक्तानीको कारोबार पनि शंकास्पद रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । विजय विक्रम शाह र पृथ्वीबहादुर शाहले वर्ल्ड एट वर्क कन्सल्टेन्टको नाममा १९ फागुन २०७७ मा ५७ लाख ४७ हजार ५४६ रुपैयाँ भित्र्याएका थिए । त्यसमा केही रकम थपेर विजयविक्रमले ५७ लाख ४८ हजार रुपैयाँ भुक्तानी लिए ।

