आगलागीमा परी एक जना बालकको जलेर मृत्यु
सप्तरी, २ वैशाख – सप्तरीको बोदेबर्साइन नगरपालिकामा भएको आगलागीमा परी एक जना बालकको जलेर मृत्यु भएको छ । तीन वटा घर जलेर नष्ट भएको छ ।
नगरपालिकाको वडा नम्बर-१० अमरैया टोलमा शुक्रबार दिउँसो ४ बजे आगलागी भएको हो । आगलागीमा परी गोठमा सुतिरहेका स्थानीय शत्रुद्यन यादवका ५ वर्षीय छोरा शैलेश यादवको जलेर ज्यान गएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । यादवकै गोठघरमा आगलागी भएको हो ।
आगलागीमा शत्रुधन यादवको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको एउटा झ्याल जल्दा रु १७ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ । आगलागीलाई स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
Facebook Comments Box

