माधव नेपालसहितका १४ सांसदको मुद्दा सरेको सर्‍यै

काठमाडौं, २० चैत – नेकपा एकीकृत समाजवादीका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै नेकपा एमालेले दायर गरेको मुद्दामा आइतबारदेखि पूर्ण सुनुवाइ गर्ने भनिएको थियो । तर १४ सांसदको तर्फबाट प्रतिरक्षा गर्ने कानून व्यवसायीहरुले पटक पटक धकेल्ने प्रयास गरे । अन्तिममा उनीहरु सफल पनि भएका छन् ।

आइतबार इजलास सुरु नहुदै १४ सांंसदको तर्फबाट अधिवक्ता अम्बर राउतले कानून व्यवसायी बिरामी भएको कारण देखाउदै सुनुवाइ स्थगित गर्न निवेदन दिए, जसलाई न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले अस्वीकार गर्‍यो । एकभन्दा बढी कानून व्यवसायीको वकालतनामा भएको अवस्थामा एकजना मात्रै बिरामी भएमा मुद्दा नै स्थगित गरिँदैन ।

निवेदन पेश भएपछि न्यायाधीशहरु सिन्हा र सुवेदीको इजलासले बिरामी भएको कागजात पनि पेश नभएको भन्दै सुनुवाइ अघि बढाउन आदेश दियो । त्यसपछि एकीकृत समाजवादीका कानून व्यवसायीहरुले मुद्दालाई संवैधानिक इजलासमा पठाउन माग गरे ।

अधिवक्ता गोविन्द बन्दीले विवादमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको भन्दै संवैधानिक इजलासमा पठाउनुपर्ने बताए । तर इजलासले ‘त्यसबारे आफूहरुले पछि निर्णय गर्ने’ बताएपछि सुनुवाइ अघि बढ्यो ।

तर न्यायाधीश नहकुल सुवेदीले एकीकृत समाजवादीका सांसद सोमप्रसाद पाण्डेको मुद्दा आफूले हेरेकाले सुनुवाइमा बस्न हुने कि नहुने भनी अन्यौलता देखाए । बहसका लागि गएका नेकपा एमालेका कानून व्यवसायीहरुले जसरी हुन्छ सुुनवाइ अघि बढाउनुपर्ने माग गरे भने एकीकृत समाजवादीका कानून व्यवसायीले प्रश्न नै उठेपछि इजलासबाट अलग हुनु उचित हुने भन्दै सुनुवाइ अघि नबढाउन माग गरे । त्यसपछि सुनुवाइ स्थगित भएको हो ।

Facebook Comments Box