एकातिर घरघर जाऔं कांग्रेस जिताऔं भन्ने, अर्कातिर माओवादीलाई भोट हाल्नु कसरि भन्ने : डा. शेखर कोइराला
काठमाडौं, १९ चैत – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पाँच दलीय गठबन्धनले मूर्तरुप लिन नसक्ने बताएका छन्। प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई शनिवार पोखरामा सम्बोधनका क्रममा कोइरालाले विचार नै नमिल्ने दलबीचको गठबन्धनले सोजे जस्तो नतिजा नदिने पनि बताए।
‘यो गठबन्धनको निर्णय कार्यान्वयन गर्न गाह्रो छ। विचारै नमिल्ने पार्टीसँग तालमेल गरेर जानुपरेको छ। तर अब कसरी जाने?,’ कोइरालाले प्रश्न गरे, ‘अघिल्लो चुनावमा जुन पार्टीले जिते,त्यहाँ त्यही पार्टीलाई दिने र एमालेले जितेका ठाउँमा दोस्रो पार्टीलाई दिने प्रस्ताव प्रचण्डजीले गर्नुभयो। पाँच सय ८५ पालिका कांग्रेसलाई दिन सक्नुहुन्छ?’
कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन र भरतपुरलाई मात्रै हेरेर गठबन्धन प्रस्ताव पनि दाबी गरे। ‘हामी तीन सय १९ पालिकामा दोस्रो छौँ। दुई सय ६६ मा हामी पहिलो भयौँ पहिलो र दोस्रोसहित लिँदा कांग्रेसको भागमा पाँच सय ८५ पालिका पर्छ’, उनले भने,’भरतपुरलाई दिमागमा राखेर मात्रै बहस भइरहेको छ। प्रचण्डजी यी सबै पालिका दिन तयार हुनुहुन्छ?’
सरकार फेर्न गरिएको गठबन्धन चुनावसम्म लैजाँदा नकारात्मक असर पर्ने पनि उनले बताएका छन्। २०७४ को निर्वाचनपछि ३६ लाख नयाँ मतदाता थपिएका बताउँदै कोइरालाले उनीहरूका लागि सोचेर निर्णय लिन आग्रह गरेका छन्।
‘पहिलो पटक नयाँ मतदाता सहभागी हुँदैछन्। उनीहरूलाई हँसिया हथौडामा भोट हाल्न भन्दा आमनिर्वाचन र त्यसपछिका रुखमा मत हाल कसरी भन्? यो गम्भीर विषय हो,’ उनले भने, ‘यसलाई कसरी मिलाउने? तालमेललाई खराब भन्दिनँ। तर, यो कुरालाई गम्भीर रुपमा लिनुपर्छ।’
उनले कांग्रेस जिताउन घर घर जाऊँ भनेर माओवादीलाई भोट माग्न नसकिने पनि बताए। ‘एकातिर घरघर जाऔं कांग्रेस जिताऔं भनेका छौँ’, उनले भने,’अर्कातिर माओवादीलाई भोट हाल्नु भनिरहेकाका छौं,यो त मिल्दो कुरा भएन।’

