बस्तीमा आगलागी हुँदा रामेछापमा २२ वटा घरथोठ जले

रामेछाप, १३ चैत – बस्तीमा आगलागी हुँदा रामेछापमा २२ वटा घरथोठ जलेका छन्। रामेछाप नगरपालिका–७ सुकाजोरमा शनिबार दिउँसो आगलागी हुँदा २२ वटा घरगोठ जलेर नष्ट भएको हो।

आगलागीमा परेर सुकाजोर गाउँका ११ वटा घर र ११ वटा गोठ नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। आगालागीबाट लाखौँको क्षति भएको अनुमान प्रहरीले गरेको छ। शनिबार दिउँसो तीव्र गतिमा हावा चलेको बेला स्थानीय विनोद श्रेष्ठको घरमा विद्युत् सर्ट भइ आगलागी सुरु भएको स्थानीयले बताएका छन्।

श्रेष्ठको घरबाट सुरु भएको आगलागी हावाहुरीका कारण नजिकका घरमासमेत सल्किएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए।

आगलागीबाट विनोद श्रेष्ठ, चिरञ्जीवी श्रेष्ठ, ठेगबहादुर मगर, हिमाल श्रेष्ठ, एकलाल श्रेष्ठ, दलबहादुर मगर, ईश्वरलाल श्रेष्ठ, तेजबहादुर श्रेष्ठ, धनबहादुर श्रेष्ठ, शंकर श्रेष्ठ र प्रेमकुमार श्रेष्ठका गरी ११ वटा घर र ११ वटा गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

तीव्र गतिमा हावा चल्दा आगो नियन्त्रणमा समय लागेको प्रहरीले जनाएको छ। आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको थियो।

Facebook Comments Box