अहिलेको सरकार बालुवामा राखेको नक्कली मुला : अध्यक्ष ओली
काठमाडौं, २८ फागुन – पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन् । नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जरा बिनाको मुला भएको बताएका हुन् ।
उनले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको बताए । उनले सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूर्ण रुपमा उखेलिने बताए ।
‘यो गभर्मेण्टलाई ठिक छ कि छैन तपाईहरुले धेरै छुट्याउने होइन, यसलाई ठिक हामी लगाइहाल्छौँ नि । यो केही होइन, मुलाको पनि अलिकति सानोतिनो भएपनि जरा हुन्छ, यसको त, जरा न फरा पाँच जनाले नियुक्त गरेको छ । केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ ।
बालुवामा लगेर राखेको नक्कली मुला यसो एकछिन बालुवामा राखेजस्तो हो यो । फुत्त तान्दा जरो सरो केही पनि छैन, हल्लाउनु पनि पर्दैन पुक्लुक्क आउँछ । हामी खाली यसलाई तान्ने दिन खोजिरहेका छौँ । भाग्न खोजिरहेको छ । भागेर कहाँ जान्छ, जान्छ, चुनाव त गर्नैपर्छ ।’
अध्यक्ष ओलीले आफ्नो कार्यकालमा नेपाली काँग्रेसका नेताहरुले कर्मचारीहरुलाई सरकारलाई सहयोग नगर्न दबाव दिएको दाबी गर्दै उनीहरुको सोच अलोकतान्त्रिक सोच भएको जिकिर गरे । उनले निजामती कर्मचारीहरुले पूर्ण रुपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकार ठिक बेठीक छुट्याएर नबस्न आग्रह गरे ।

