विदेशबाट नेपाल आउने यात्रुले खोप कार्ड देखाए पीसीआर नचाहिने
काठमाडौं ,२६ फागुन – विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबै यात्रुले पूर्ण खोप मात्रा पूरा गरेको खोप कार्ड देखाए पीसीआर नचाहिने भएको छ । खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउने क्वारेन्टिन पनि बस्नु नपर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णय सरोकारवाला मन्त्रालयहरुलाई पठाएको छ । निर्णयअनुसार अब हवाई तथा स्थलमार्गबाट यात्रुहरु निर्वाध नेपाल आउन पाउने छन् ।
नेपाल आउँदा यात्रुले खोप लगाएको प्रमाण पत्र पेश गर्नुपर्ने छ । प्रमाणपत्र पेश गर्न नसक्ने यात्रुले यात्रा शुरु गर्नु अगाडि ७२ घण्टाभित्रको परक्षिणको नतिजा नेगेटिभ आएको प्रमाणपत्र देखाएमा समेत नेपाल प्रवेश पाउने छन् ।
यससँगै यात्रा व्यवस्थापन सम्बन्धी यसअघि लागु गरिएका सबै निर्णय खारेज गर्ने निर्णय भएको समेत कार्यालयले जानकारी गराएको छ । हवाई मार्ग वा स्थलमार्ग भई विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुको सम्बन्धमा कोभिड १९ को जोखिम विश्लेषण आवश्यकताअनुसार परीक्षण गर्ने, थप कडाई गर्ने वा नगर्ने निर्णय अब कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाटै हुने भएको छ ।

