लामो समय देखि विवाद चल्दै आएको एमाले सुनसरीमा दुवै पक्षको संयुक्त बैठक बस्ने

सुनसरी, २३ कात्तिक – जेठ २ कार्यान्वयनका लागि लामो समय देखि विवाद चल्दै आएको एमाले सुनसरीमा दुवै पक्षको संयुक्त बैठक बस्ने भएको छ।

महाधिवेशन नजिकिँदै गएपछि दुई दिनयता एमालेका केन्द्रीय नेताहरुबीच निरन्तर छलफलले बुधबार जिल्ला कमिटिको संयुक्त बैठकका लागि सहमति जुटाएको हो।

उक्त छलफलममा सहमति जुटेकाले सदरमुकाम इनरुवाको ओम साई पार्टी प्यालेसमा दुवै कमिटीको संयुक्त बैठक बस्ने निर्णय भएको हो।पार्टी सचिव प्रदेश १ प्रदेश इञ्चार्ज भीम आचार्यसहित केन्द्रीय सदस्यहरुबीचको बैठकले विवाद समाधान गर्दै संयुक्त बैठक राख्ने सहमति गरेको हो।

केन्द्रीय सदस्य जगदीश कुसियैतका अनुसार बुधबार हुने बैठकमा दुईवटा कमिटीका अध्यक्षलाई बैठकको अध्यक्षता नगराई विकल्पमा जाने सहमति भएको छ।

दुईजनामध्ये एकलाई अध्यक्षता गराउँदा थप विवाद हुने भएकाले वैकल्पिक व्यक्ति खोजिएको जिल्ला कमिटीकै एक पदाधिकारीले बताए।पार्टी सचिव एवं प्रदेश इञ्चार्ज आचार्यको प्रमुख आतिथ्यमा हुने बैठकमा केन्द्रीय कमिटीका नेताहरुमध्येबाट अध्यक्षता गर्ने सहमति भएको छ।

‘कसले अध्यक्षता गर्ने भन्ने विवाद चल्यो, दुवै अध्यक्षको विकल्पमा सर्वसम्मत व्यक्तिलाई अध्यक्षता गर्न दिने सहमति भएको छ,’ एक पदाधिकारी भने ‘खेमराज पोख्रेलले अध्यक्षता गर्ने टुंगो लागेको छ।’

छलफलको सहमति अनुसार एकजना अध्यक्ष, २ जना उपाध्यक्ष, २ जना सचिव र १ जना उपसचिव रहेको आयोजक कमिटी बन्नेछ। नेकपा विभाजनपछि रेवतीरमण भण्डारी र रमेश बस्नेत अध्यक्ष रहेका दुईवटा जिल्ला कमिटी भएपछि पार्टीमा विवाद चुलिएको थियो।

दुवैले आफूलाई आधिकारिक दाबी गर्दै आएका थिए। पार्टीले नेता सुवास नेम्वाङ संयोजक रहेको कार्यदललाई विवाद समाधान गर्ने जिम्मा दिए पनि सुनसरीको विवाद मिल्न सकेको थिएन।

Facebook Comments Box