बीएण्डसी अस्पताल, झापाका सञ्चालक दुर्गा प्रसाईं नेकपा एमाले प्रवेश
काठमाडौँ, ७ कात्तिक – बीएण्डसी अस्पताल, झापाका सञ्चालक दुर्गा प्रसाईं नेकपा एमाले प्रवेश गरेका छन् । आइतबार झापामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंलगायतलाई पार्टी प्रवेश गराएका हुन् ।
एमाले केन्द्रीय सदस्य रवीन कोइराला भन्छन्, ‘उहाँलाई के हैसियत दिने भन्ने पछि छलफल होला, अहिले पार्टी प्रवेश गर्नुभएको छ ।’ आइतबार पार्टी प्रवेश गरेका प्रसाईं असोज १५–१७ सम्म ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनमा नै सहभागी भएका थिए ।
उनी एमाले केन्द्रीय सदस्यको हैसियतमा विधान सम्मेलनमा सहभागी भएका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईंले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चर्को आलोचना गरे ।
लिखित सम्बोधन गरेका उनले प्रचण्ड र बाबुराम भट्टराईलाई कम्युनिस्ट भन्न लाज लाग्नुपर्ने बताए । उनले प्रचण्ड र बाबुरामको नाम लिँदै ‘हामीले यही दिन देख्न मृत्युवरण गरेका हौं ?’ भनी प्रश्न गर्दा सहभागीहरुले हुटिङ गर्दै ‘होइन’ भनेका थिए ।
उनीपछि सम्बोधन गरेका एमाले अध्यक्ष ओलीले पनि प्रसाईंकै अभिव्यक्तिलाई समर्थन जनाउँदै प्रचण्डको पछि लागेर काम नहुने पनि बताए ।प्रसाईं लामो समयसम्म प्रचण्डनिकट मानिन्थे । एमाले र माओवादी केन्द्रबीच एकता हुनुपूर्व प्रचण्ड र केपी शर्मा ओलीलाई आफ्नै निवासमा भेट गराएर मार्सी चामलको भात खुवाएको तस्वीर सार्वजनिक भएपछि प्रसाईं चर्चामा आएका थिए ।
तर २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज भएर एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि प्रसाईं एमालेतिर लागेका छन् ।

