आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, २४ असोज – अब देशमा मनसुनका कारण वर्षा हुने क्रम लगभग रोकिइसकेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका पूरै क्षेत्र तथा लुम्बिनी प्रदेशका पश्चिमी भेगबाट गत शुक्रबार नै मनसुन हटिसकेको छ। बाँकी स्थानमा मनसुन रहे पनि पानी पर्ने क्रम भने लगभग रोकिइसकेको मौसमविद् मञ्जु बासीले बताइन्।

उनका अनुसार प्रदेश १, २ बागमती र गण्डकीका पूरै क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी स्थानमा अझै मनसुन छ। पूरै नेपालबाट मनसुन बाहिरिन अझै ३/४ दिन लाग्न पनि सक्ने तथा चाँडै पनि हुन सक्ने सम्भावाना रहेको उनले जानकारी दिइन्।

मौसमविद्का अनुसार नेपालबाट मनसुन बाहिरिनुपर्ने औसत मिति यही अक्टोबर २ तारिख भए पनि केही दिन ढिला भइरहेको हो।
मौसमविद् बासीका अनुसार अहिले देशका कुनै पनि स्थानमा पानी परेको छैन। मौसमचाहिँ पहाडी भेगमा आंशिक देखि सामान्य सम्म बदली भएको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। काठमाडौं उपत्यकामा भने आज पानी पर्ने सम्भावना नरहेको जानकारी मौसमविद् मञ्जु बासीले दिइन्।

यस्तै राति पनि तिनै प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएको छ ।

Facebook Comments Box