गुलाब नामको चक्रवातले भारतमा प्रत्यक्ष प्रभाव परे पनि नेपालमा खासै असर परेन : आज देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुन सम्भावना

काठमाडौँ, १२ असोज – बंगालको खाडीमा बनेको गुलाब नामको चक्रवातले भारतमा प्रत्यक्ष प्रभाव परे पनि नेपालमा खासै असर नपरेको यहाँका मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज ८ गते बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न सुरु भई त्यो असोज ९ गते ‘गुलाब’ नामक शक्तिशाली चक्रवातमा परिणत भएको थियो।

असोज १० गते त्यो भारतको उडिसामा जमिनमा अवतरण भई न्यून चापीय क्षेत्रका रूपमा पश्चिमतर्फ अगाडि बढिरहेको छ। यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्यसम्म मौसम बदलीको अवस्था हुन सक्ने तर भारी वर्षा हुने सम्भावमा छैन।

‘त्यो अहिले न्यून चापीय क्षेत्रमा परिणत भइसकेको छ र नेपालभन्दा निकै टाढा छ’, मौसमविद् राजु प्रधानांगले भने, ‘यसको खासै असर नेपालमा पर्ने देखिन्न।’

मौसमविद् प्रधानांगका अनुसार अहिले चितवनमा मात्र मध्यमसम्म वर्षा भइरहेको छ भने देशका अन्य स्थानमा कतै पानी परेको छैन। मौसम आंशिकदेखि सामान्यसम्म बदली मात्र छ।

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुन सम्भावना छ। यस क्रममा काठमाडौं उपत्यकामा पनि आज अपराह्नतिर हल्का वर्षा हुने देखिएको मौसमविद् प्रधानांगले जानकारी दिए।

महाशाखाको अनुसार आज राति पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। मौसमविद् प्रधानांगका अनुसार मनसुन अन्तिम चरणमा पुगिसकेकाले अब ठूलो वर्षाको सम्भावना खासै छैन।

हल्कादेखि मध्यमसम्म क्षणिक वर्षाको मात्र सम्भावना छ। मनसुनी प्रणाली हट्ने सामान्य मिति आउने अक्टोबर २ तारिख हो। ‘तर त्यही मितिमा मनसुन बिदा हुने देखिएको छैन’, मौसमविद् प्रधानांगले भने, ‘केही लम्बिने संकेत देखिएको छ, तर वर्षा त्यस्तो ठूलो हुँदैन।’

Facebook Comments Box