गोर्खाहरूको आमरण अनशनमा बेलायती विपक्षी दलको समर्थन

लन्डन, २८ साउन – गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति यहाँको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ । विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान सरकारलाई ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरूलाई दिँदै आएको असमान पेन्सन अपमानजनक रहेको र यसको अन्त्य गर्न भनेको छ ।

पार्टीका छायाँ रक्षामन्त्री स्टेफन मोर्गनले परराष्ट्र सचिवलाई यसअघि नै पत्र लेखेर असमान पेन्सनका बारेमा तत्काल कदम चाल्न भनिसकेको बताउनुभयो । बुधबार स्थानीय सञ्चारमाध्यममा लेबर पार्टीका सांसद मोर्गनले भन्नुभयो, “गोर्खाहरूले २०० वर्ष हाम्रो देशमा सेवा गरेका कारण हाल उठाइएको मुद्दामा हाम्रो चासो र चिन्ता रहेको छ, सरकारले यो अपमानजनक कार्य अन्त्य गर्ने कुरा दुई वर्षअघि नै गरे पनि हालसम्म हुन सकेको छैन, अब यो अपमानजनक कार्य तत्काल अन्त्य हुनुपर्छ, हामी गोर्खाहरूको पक्षमा छौँ ।

” उहाँले तीन गोर्खाले न्यायका लागि मर्न तयार रहेको भनिरहँदा बेलायती समाजमा यो कालो धब्बाका रूपमा देखिने बताउनुभयो । अनशनरतमध्येका एक धन गुरुङले भन्नुभयो, “हाम्रो पुर्खाले यो देश बचाउन प्राण आहुति गरे, अब हामीले न्यायका लागि प्राण त्याग्न तयार हुनुपरेको छ ।” यसै सन्दर्भमा रक्षा मन्त्रालयका प्रवक्ताले बेलायती सेनामा गरेको ठूलो योगदानको मूल्याङ्कन गरेर गोर्खाहरूको उपचार र पेन्सनको व्यवस्था गरेको तथा बेलायतको पेन्सन प्रावधानलाई ध्यानमा राखी उचित र न्यायोचित पेन्सन वितरण गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

Facebook Comments Box