असोज मसान्तभित्र १ करोड ८३ लाख ८२ हजार डोज डोज खोप प्राप्त हुने, चैतसम्म सबै नेपालीलाई खोप लगाउने घोषणा

काठमाडौँ, १५ साउन – सरकारले आगामी चैतसम्म सबै नेपालीलाई खोप लगाउने घोषणा गर्दै विभिन्न खोप उत्पादक मुलुकबाट खोप प्राप्त हुने क्रम जारी रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै खोप आयात र तेस्रो लहरको चुनौतिविरुद्ध लड्न आवश्यक पूर्वाधार स्थापनाको प्रगतिबारे जानकारी गराएको छ ।

चीनको साइनोफार्म कम्पनीबाट थप ६० लाख डोज भेरोसेल खोप खरिद प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ । जापानबाट आउने १६ लाख डोज अस्ट्राजेनेका र भारतबाट आउने १० लाख कोभिसिल्डसहित असोज मसान्तभित्र १ करोड ८३ लाख ८२ हजार डोज डोज खोप प्राप्त हुने समेत मन्त्रालयले जनाएको छ ।

१२ वर्ष माथिका बालबालिकालाई लगाउन मिल्ने ६० लाख डोज फाइजर खोप खरिदका लागि प्रक्रिया सुरु हुने समेत जनाइएको छ । कोभ्याक्सबाट निःशुल्क प्राप्त हुने १ करोड १३ लाख डोज खोप पनि प्राप्त हुने हुँदा चैतभित्र सबै नेपालीको पहुँचमा खोप पुग्ने पनि मन्त्रालयले जनाएको छ । हालसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१० प्रतिशत नाफा लिएर खोप आयात गर्न निजी क्षेत्रलाई अनुमति

यसैबीच, सरकारले १० प्रतिशत मुनाफा लिएर विश्व स्वास्थ्य संगठन र औषधि व्यवस्था विभागले स्वीकृति दिएका खोप आयात गर्न निजी क्षेत्रलाई अनुमति दिएको छ ।

खोप उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा लिएर सरकारले तोकेको प्राथमिकताको समूहलाई लगाउन मिल्ने गरी स्वीकृति दिइसकेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box