६ बुँदे प्रस्ताव पारित गर्दै नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक सकियो : भोलि फेरि बस्ने
काठमाडौँ, १८ असार – नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक ६ बुँदे प्रस्ताव पारित गर्दै सकिएको केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलले बोलेका छन् । एमाले विवादपछि बसेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष गौतमसहित हरि पराजुली, गणेश पहाडीलगायत नेता उपस्थित भएको भट्टराईले बताए । शुक्रबारको बैठकमा अध्यक्ष ओली र उपाध्यक्ष गौतमले सम्बोधन गरेका हुन् । अन्य औपचारिक प्रस्ताव पारित भएको भट्टराईको भनाइ छ ।
बैठकले पुष्पलाल, मनमोहन र मदन लगायतका अग्रजहरुप्रति सम्मान, कोभिडबाट मृत्युबरण गर्नुहुने सबैप्रति श्रद्धाञ्जली, सम्पूर्ण संक्रमितहरुप्रप्रति स्वास्थलाभको कामना, बाढीपहिरोबाट ज्यान गुमाउनुहुनेप्रप्रति श्रदासुमन अर्पण, घाइतेको स्वास्थ्यलाभको कामना र विस्थापितहरुको दीगो पुनर्स्थापनासँगै वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचारको व्यवस्था गर्ने प्रस्ताव पारित गरेको हो ।
बैठकले पार्टीको आन्तरिक समस्या समाधानार्थ आह्वान गर्ने र चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सयवर्षको उपलक्ष्यमा चिनेले प्राप्त गरेका उपलब्धिका लागि चिनियाँ जनताप्रति हार्दिक बधाई दिने प्रस्ताव पारित गरेको हो । बैठकमा बोल्दै उपाध्यक्ष गौतमले अध्यक्ष ओलीलाई अब म तपाईंसँग आए फर्केर जान्न भनेर बताएका छन् । गौतमले जिम्मेवारी दिए पार्टी एकता गर्ने विश्वाससमेत ओलीलाई दिएका छन् । ‘वामदेव गौतमले म तपाईंसँग आएको छु फर्केर जान्न, ननिकालेसम्म एमालेमा बसिरहन्छु, मलाई जिम्मेवारी दिएमा तपाईंको सहमतिमा म एकता गराउनेछु’, गौतमको भनाइ उद्धृत गर्दै भट्टराईले भने ।

