फिफा विश्वकप तथा एसियन कप अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ, २४ जेठ – फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज बलियो टोलि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टोलिको लक्ष्य जित निकाल्ने रहेको बताईसक्नुभएको छ । यसअघि नेपालले चाइनिज ताइपेईमाथि २-० गोलको जित निकालेको थियो ।

आज पनि उच्च मनोबलका साथ मैदानमा उत्रने तयारी भएको प्रशिक्षक अब्दुल्लाहले बताउनुभएको छ । चाइनिज ताइपेईलाई हराउनुअघि इराकसँगको मैत्रीपूणर् खेलमा नेपाल ६-२ गोल अन्तरले पराजित भएको थियो । यस्तै, जोर्डन पनि आज नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ ।

विश्वकप छनोट अन्तर्गत नै सन् २०११ को जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९-० ले पराजित भएको थियो ।
नेपालले जोर्डनविरुद्ध हालसम्म तीन पटक खेलेको छ । तर, नेपालको नतिजा सुखद छैन । यसैगरी, नेपालले अब आउँदो शुक्रवार अष्ट्रेलियासँग खेल्नेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

Facebook Comments Box