बढे भाइरल ज्वरोका बिरामीे
डोटी, २६ वैशाख – देश कोरोना भाइरसले आक्रान्त भएको बेला जिल्लाको पूर्वीचौँकी गाउँपालिकामा भने भाइरल ज्वरोका बिरामीहरू बढेका छन् । टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणका भाइरल ज्वरोका बिरामी गाउँमा प्रशस्त देखिन थालेका छन् । गाउँपालिकाका प्रायः सबै वडामा भाइरल ज्वरोका बिरामी बढेपछि समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन् ।
भाइरल ज्वरोका कारण नागरिक थलापरेको स्थानीय चक्रबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “भाइरल ज्वरोले नागरिक थला परेका छन्, उपचार गर्न जान सकिने अवस्था छैन ।
गाउँमा ज्वरो भाइरल रूपमा फैलिन थालेपछि कोरोना पो हो कि भन्ने चिन्ता थपिएको बृजबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, पालिकाभर केही दिनदेखि भाइरल ज्वरो तथा रुघाखोकीका बिरामी बढ्दै गएका छन्, उपचार पनि छैन र कोरोना परीक्षणसमेत नगर्दा हामीलाई चिन्ता हुन थालेको छ ।”
यहाँका स्वास्थ्य संस्थामा दैनिक जसो टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणका बिरामी आउने गरेको पूर्वीचौँकी गाउँपालिका–२ का स्वास्थ प्रमुख भक्त ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “भाइरल ज्वरोका दैनिक बिरामी स्वास्थ्य संस्था आउन थालेका छन्, हामीसँग कोरोना परीक्षण गर्ने उपकरण छैन, सामान्य ज्वरोको औषधी दिएर र जाँच गर्दा बिरामी निको हुँदैन ।
कोरनासँग मिल्दोजुल्दो खालको लक्षणका बिरामी दिनहुँ यहाँका स्वास्थ संस्थामा उपचारका लागि आउने गरे पनि कोरोना परीक्षण गर्ने किट नभएका कारण आजसम्म परीक्षण गर्न नसकेको गाउँपालिकाका स्वास्थ्य प्रमुख राम पाठकले बताउनुभयो ।

