गैँडा संरक्षणमा सबै एकजुट हुनुपर्छ: मन्त्री आले

चितवन, ९ चैत – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले छिमेकी मुलुक भारत र नेपालमा मात्रै पाइने लोपोन्मुख अवस्थामा रहेका एकसिङे गैँडा संरक्षणका लागि सबैले एकजुट हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज चितवनको सौराहमा आयोजना गरेको कार्यक्रममा उहाँले गैँडा संरक्षणका लागि सबै स्थानीय तह, कर्मचारी तथा आम नागरिक एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बुद्धको देश, सगरमाथाको देश भनेर चिनिएको नेपालमा अब एकसिङे गैँडाको देश भनेर चिनाउनु पर्ने अवस्था छ, गैँडा जोगाउन हामी सबै तह, तप्का र आम नागरिक लाग्नुपर्छ ।”

मन्त्री आलेले गैँडा चोरी शिकारीमा संलग्न तस्करहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउनसमेत सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “गैँडा भनेको हाम्रो देशको गहना हो, त्यसको चारी शिकारीमा संलग्नलाई हदैसम्मको कारबाही गरिनुपर्छ, देशको गहना नाश गर्नेलाई कुनै पनि हालतमा छुट दिनु हुँदैन् ।” मन्त्री आलेले एकसिङे गैँडा नेपालको चितवन, बर्दिया, कञ्चनपुर तथा पर्सामा मात्रै पाइने भएकाले विषेश गरी त्यहाँका नागरिकले गैँडा संरक्षणका लागि चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

कोरोनाका कारण काठमाडौँस्थित सदर चिडियाखानामा रहेका वन्यजन्तुका लागि आहारको समस्या भएकाले प्रधानमन्त्रीले एक महिनाको खाना खर्च व्यवस्थान गर्नुभएको जानकारी दिदैं वन्यजन्तुको आहारका लागि सहयोग गर्न सबै इच्छुक नागरिक, वित्तीय सङ्घसंस्थालाई आग्रह गर्नुभयो । उहाँले गैँडा चोरी शिकारी हुनबाट रोक्न नियमित अनुगमन तथा गस्ती गर्न तथा तस्करहरुलाई कानूनी दायरामा ल्याउन निकुञ्ज कर्मचारीहरुलाई निर्देशन पनि दिनुभयो ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले नेपालमा हालसम्म १२१ वटा गैँडा मारिएको जानकारी दिनुभयो । उहाँका अनुसार ६ वटा चोरी शिकारीबाट मारिएका तथा ११५ वटा विभिन्न रोग र प्राकृतिक प्रकोपका कारण मरेका छन् । गएको वर्ष गरिनु पर्ने गैँडा गणना कोरोनाका कारण रोकिएकाले यो वर्ष शुरु गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा दीपककुमार खरालले जानकारी दिनुभयो ।

नेपालमा सन् १९९४, २०००, २००८, २०११ तथा २०१५ मा राष्ट्रिय गैँडा गणना गरिएको थियो । एकसिङे गैँडालाई आईयूसीएनले भ्यालुएबल प्रजातिको सूचीमा राखेको छ भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची १ मा सूचीकृत छ । आजबाट शुरुआत गरिएको गैँडा गणना कार्यक्रम कम्तीमा पनि २२ देखि २५ दिन लाग्ने तथा वैशाख पहिलो सातासम्म तत्थ्याङ्क सार्वजनिक गर्ने लक्ष्य लिइएको प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो ।

गैँडा गणनाका लागि ४० हात्ती तथा २०० जना अन्य कर्मचारी परिचालन भएका छन् । परिचालन भएकाहरुमा तालीम प्राप्त गणक ६० जना र अन्य हात्तीसँग सम्बन्धित व्यक्ति रहेका छन् । अघिल्ला वर्षहरुमा गैँडा गणना कार्यमा संरक्षण सहयोगी संस्थाहरुको आर्थिक सहयोगमा हुने गरेको थियो भने आर्थिक वर्ष २०७६÷०७७ मा गैँडा गणनाका लागि नेपाल सरकारबाट रु एक करोड १० लाखको बजेट विनियोजन भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिनुभयो ।

सन् २००० मा गरिएको गैँडा गणनानुसार नेपालमा कूल ६१२, सन् २००८ मा ४३५, सन् २०११ मा ५३४, सन् २०१५ को गणनानुसार ६४५ गैँडा रहेको पाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज गैँडाको मुख्य बासस्थानका रुपमा रहेको बताइएको छ । सन् २०१५ को तत्थ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ गैँडा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा गैँडा चोरी शिकारीमा संलग्नलाई कानूनी दायरामा ल्याउन सफल भएका नेपाली सेना, नेपाल प्रहरीको सीआईबीका कर्मचारी तथा गेम स्काउटहरुलाई आज नगद पुरस्कारका साथै प्रमाणपत्रसहित सम्मानसमेत गरिएको थियो ।

Facebook Comments Box