योग शिविरलाई सामग्री प्रदान
काठमाडौँ, १८ साउन – गोकर्णेश्वर नगरपालिकाले यहाँका १३ वटा योग शिविरलाई आवश्यक सामग्री प्रदान गरेको छ । जोरपाटीस्थित भैरव अर्याल स्मृति भवनमा आइतबार आयोजित कार्यक्रममा नगरप्रमुख सन्तोष चालिसेले १३ वटै शिविरका संयोजकलाई म्याट, साउण्ड सिष्टम, पङ्खालगायत आवश्यक सामग्री प्रदान गर्नुभएको हो ।
सो अवसरमा प्रमुख चालिसेले योगको विकास र अपनत्वका लागि नगरपालिकाले योग समिति गठन गर्ने तयारी गरेको जानकारी दिनुभयो ।नगरपालिकाका ९ वटै वडामा ज्येष्ठ नागरिक क्लब निर्माण गर्ने र यसका लागि प्रत्येक वडामा रु २० लाख विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । नगर क्षेत्रभित्र उपयुक्त स्थानमा रु ५० लाखको लागतमा तत्काल योगहल निर्माण गरिने नगरपालिकाले जनाएको छ ।
गोकर्णेश्वर महादेव मन्दिरदेखि उत्तरबहिनीसम्मको क्षेत्रलाई उत्तरगया धामका रुपमा विकास गर्नेगरी कार्य प्रारम्भ भएको छ । नगरपालिका–५ का वडाध्यक्ष नारायणप्रसाद सुवेदी र वडा नं ६ का अध्यक्ष रमेश अर्यालले वडाभित्र सञ्चालित योग शिविरलाई थप व्यवस्थित बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा योग शिक्षक अच्युत अर्याल, पतञ्जल ियोग समिति काठमाडौँका अध्यक्ष सुरेन्द्र रिमाल र पतञ्जली योग समिति गोकर्णेश्वर नगर संयोजक रामप्रसाद सञ्जेलले योगको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।
स्थानीय जडिबुटी वितरण
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख एवं गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले तुलसी, गुर्जो, निम, पत्थर चट्टालगायत जडिबुटीको बिरुवा वितरण गर्नुभएको थियो ।
गुर्जो अभियानकर्मी राजलवटले जडिबुटीको प्रयोगले रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने र मानिसलाई स्वस्थ बनाउन सहयोग गर्ने भएकाले स्थानीय जडिबुटीको प्रवद्र्धनका लागि अभियान सञ्चालन गरेको बताउनुभयो ।

