माधवकुमार नेपाललाई सरकारमा आउन दबाब आउने नआउने टुंगो गर्न भोलिसम्मलाई ‘अल्टिमेटम’
काठमाडौँ, १४ साउन – सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा आउने नआउने टुंगो गर्न भोलिसम्मलाई ‘अल्टिमेटम’ दिएका छन्। सरकार गठनको तीन साता हुन लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको अवस्थामा दुवै दलले नेता नेपाललाई सरकारमा आउन दबाब दिएका हुन्।
तत्कालीन केपी ओली नेतृत्वको सरकारविरुद्ध मोर्चाबन्दी गरेका पाँच दलीय गठबन्धनले नयाँ सरकार बनाएको लामो समय हुँदा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि दबाबमा परेका छन्। यस्तो अवस्थामा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार दिउँसो कोटेश्वर पुगेर नेता नेपाललाई भेटेका छन्।
उनले नेता नेपालसँगको भेटमा सरकार विस्तारमा भएको ढिलाइले नकारात्मक सन्देश गएको भन्दै चाँडो निर्णय लिन आग्रह गरेको स्रोतले बताएको छ। प्रधानमन्त्री देउवा भोलि या आइतबारसम्म मन्त्रिपरिषद् विस्तार गरिसक्ने तयारीमा छन्। स्रोतका अनुसार माओवादी र जनता समाजवादी पार्टीले भोलिसम्ममा सरकारमा जाने अनुहारको टुंगो गरेपछि मन्त्रिपरिषद् विस्तार हुनेछ। कांग्रेसले मन्त्री बन्ने नयाँ अनुहार टुंग्याउँदैछ।
यहीबीचमा प्रचण्डले कोटेश्वरमा पुगेर नेता नेपाललाई भोलिसम्मको समय दिएको बताइएको छ। तर नेता नेपालले भोलिसम्म पनि सरकारमा जाने निर्णय लिन सक्ने अवस्था छैन। एमालेको विवाद मिलाउनका लागि उनीमाथि दबाब बढिरहेको छ। एमाले अध्यक्ष ओलीले शनिबारसम्म एमाले विवादलाई वार कि पार गर्न महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलसहितलाई निर्देशन दिइसकेका छन्।
नेता नेपाल भने एमाले कानुनी रुपमा विभाजित नभएसम्म सरकारमा जाँदा राजनीतिक रुपमा घाटा हुने निचोडमा छन्। तर उनलाई आफ्नै समूहका नेताहरुले सरकारमा जानुपर्ने दबाब दिइरहेका छन्। आफ्नै समूहभित्र एमाले एक बनाउनुपर्ने र नयाँ पार्टीको योजनामा लाग्नुपर्ने दुई थरी विचारका कारण नेपाल चेपुवामा परेका छन्। त्यहीकारण नेपाल अझै केही समय अनिर्णित भएर तत्काल सरकारमा जाने सम्भावना नरहेको स्रोतको भनाइ छ।
यस्तो अवस्थामा देउवा नेतृत्वको सरकार नेता नेपाल सरकारमा नआए पनि उनका लागि योजना आयोग सदस्य, प्रदेश प्रमुखदेखि मन्त्रीसम्मका केही स्थान खाली राखेर आइतबारसम्म मन्त्रिपरिषद् विस्तार तयारी गरेका छन्। प्रधानमन्त्री देउवानिकट स्रोतका अनुसार सम्भवत आइतवार मन्त्रिपरिषद् विस्तार हुनेछ। कांग्रेसबाट मन्त्रीका लागि डा. नारायण खड्कासहितको नाम अहिले चर्चामा छ।

