काठमाडौँ उपत्यकामा ४३३ जना सहित देशभर थप २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २८ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४३३ जना सहित देशभर थप २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ६८९ आरटी पीसीआर तथा ३ हजार ८९५ एन्टीजेन परिक्षण सहित ११ हजार ५८४ जनाको परिक्षण गर्दा २ हजार ३७० जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख १ हजार ५१२ रहेको छ भने सक्रिय संक्रमितको संख्या २६ हजार ७१२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार १३३ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ४०० रहेको छ

