पोखरामा दाइँ महोत्सव, परम्परागत कृषि संस्कृति हेर्न विदेशी पर्यटकको आकर्षण

कास्की । पोखरा महानगरपालिका–२९ नौबिसेटोलमा तेस्रो संस्करणको दाइँ महोत्सव आयोजना गरिएको छ। परम्परागत कृषि प्रणालीको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण देखिएको छ।

शनिबार बिहानैदेखि नौबिसेटोलको खेतमा परम्परागत शैलीमा धान चुट्ने, गोरु नारेर दाइँ गर्ने र पराल छान्ने गतिविधि सञ्चालन गरिएको थियो। हिमालको पृष्ठभूमिमा नेपाली किसानले परम्परागत रूपमा धान थन्क्याएको दृश्य विदेशी पर्यटकका लागि नौलो र रमाइलो अनुभव बनेको थियो। केही पर्यटक आफैँ दाइँमा सहभागी भएर गोरु धपाउनसमेत उत्साहित देखिएका थिए।

इङ्ल्यान्ड, जापान र चीनबाट आएका पर्यटकले नेपाली कृषि परम्पराको अनुभव लिँदै यसको प्रशंसा गरेका थिए। उनीहरूले आधुनिक कृषि प्रविधिको विकाससँगै परम्परागत खेती प्रणाली नयाँ पुस्तालाई पनि सिकाउनुपर्ने धारणा राखेका थिए। पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भएको महोत्सवले सहरीकरण र बदलिँदो जीवनशैलीका कारण लोप हुँदै गएको कृषि संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने लक्ष्य राखेको छ।

महोत्सवका संयोजक हरिराम अधिकारीले परम्परागत खेती प्रणालीको संरक्षण, स्थानीय उत्पादनको प्रवद्र्धन र किसानलाई आफ्नो पेसाप्रति प्रोत्साहित गर्न महोत्सवले सहयोग पुर्‍याउने बताउनुभयो। उहाँले यसबाट कृषि पर्यटनको विकाससँगै आन्तरिक तथा बाह्य पर्यटकको गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले पर्यटन प्रवद्र्धन होटलमा पर्यटक ल्याएर राख्ने विषयमा मात्र सीमित नहुने बताउनुभयो। पोखराको प्रकृति, संस्कृति र मौलिक परम्परालाई पर्यटकसमक्ष प्रस्तुत गर्नु पनि पर्यटन विकासको महत्त्वपूर्ण पक्ष भएको उहाँको भनाइ थियो।महोत्सवमा धान चुट्ने, दँदेरी, गुन्द्री बुन्ने र लठ्ठो तान्ने प्रतियोगितासमेत आयोजना गरिएको थियो। साथै, धेरै धान उत्पादन गर्ने उत्कृष्ट किसानलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

Facebook Comments Box