म्यानमारमा विवाह समारोह र विद्यालयमा हवाई आक्रमण, दर्जनौँ नागरिकको मृत्यु
काठमाडौँ । म्यानमारको सैन्य सरकारले विभिन्न स्थानमा गरेको हवाई आक्रमणमा परी दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणमा विवाह समारोह स्थल, विद्यालय र आवासीय क्षेत्रलाई निशाना बनाइएको छ। बीबीसीका अनुसार शनिबार दिउँसो दक्षिणी शान राज्यको मोए बाइ गाउँमा विवाह समारोह भइरहेका बेला गरिएको हवाई आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्।
यसअघि बिहीबार मध्य म्यानमारको मग्वे क्षेत्रस्थित इन योन गाउँको एक विद्यालयमा भएको हवाई आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको थियो। मृतकमा विद्यार्थी, युवा भिक्षु र शिक्षकसमेत रहेका म्यानमारको निर्वासित सरकार नेसनल युनिटी गभर्मेन्टले जनाएको छ।त्यस्तै, शनिबार साँझ पश्चिम म्यानमारको राखाइन राज्यस्थित म्राउक–यू सहरको आवासीय क्षेत्रमा पनि सेनाले बमबारी गरेको थियो।
उक्त आक्रमणमा १० जनाभन्दा बढीको मृत्यु भएको र करिब २० जना घाइते भएको विवरण सार्वजनिक भएको छ। मग्वे क्षेत्रमा सैन्य शासनविरुद्धका प्रतिरोधी समूह सक्रिय छन् भने म्राउक–यू क्षेत्र अराकान आर्मीको नियन्त्रणमा रहेको छ। यी आक्रमणबारे म्यानमारको सैन्य नेतृत्वले भने कुनै प्रतिक्रिया नजनाएको बीबीसीले उल्लेख गरेको छ।

