साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, तीन जना घाइते

काठमाडौँ । साउदी अरबमा हालै भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भएका छन् भने दुई जनाको उपचार भइरहेको छ। मृतक नेपालीको पहिचान भने सार्वजनिक गरिएको छैन।

मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। नेपालले सर्वसाधारण नागरिक तथा सार्वजनिक पूर्वाधारलाई कुनै पनि बहानामा निशाना बनाउन नहुने भन्दै विवाद र द्वन्द्व समाधानका लागि संयमता अपनाउन र शान्तिपूर्ण उपाय अवलम्बन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

गत नोभेम्बर २४ मा साउदी अरबको राजधानी रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टको एउटा टावरमा आक्रमण भएको थियो। साउदी नागरिक सुरक्षा निकायले उक्त आक्रमणमा यमनको हुथी विद्रोही समूहको संलग्नता रहेको आरोप लगाएको थियो।

Facebook Comments Box