१२ वर्षदेखि अलपत्र घुमाउने पुल निर्माण अघि बढाउन स्थानीयको दबाब
दमौली । तनहुँको आँबुखैरेनी र चितवनको भरतपुर जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुल निर्माण तत्काल अघि बढाउन स्थानीयले दबाब दिएका छन्। १२ वर्षअघि निर्माण सुरु भएको पुल हालसम्म करिब ३६ प्रतिशत मात्रै सम्पन्न भएको छ। निर्माणमा ढिलाइ भएपछि सडक डिभिजन कार्यालयले गत वैशाखमा ठेक्का तोडेको थियो।
सडक डिभिजन कार्यालय दमौलीका अनुसार पुल पुरानै स्थानमा बनाउने वा नयाँ स्थानमा निर्माण गर्ने भन्ने विषयमा अध्ययन भइरहेको छ। यसका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। पुल निर्माण सम्पन्न भए तनहुँ र पोखराबाट चितवनको नारायणगढ आवतजावत गर्न हालको मुग्लिन–नारायणगढ सडकभन्दा करिब २३ किलोमिटर छोटो वैकल्पिक मार्ग खुल्नेछ। पुल नबन्दा यस क्षेत्रका स्थानीय र यात्रुले लामो समयदेखि सास्ती खेप्दै आएका छन्।

