स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
स्याङ्जा । स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो। महिनैपिच्छे संक्रमितको संख्या बढ्दै गएको कार्यालयले जनाएको छ।
स्थानीय तहमध्ये वालिङ नगरपालिकामा सबैभन्दा धेरै संक्रमण देखिएको छ। वालिङमा तीन महिनामा २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको छ। त्यस्तै, कालीगण्डकी गाउँपालिकामा ९४, चापाकोट नगरपालिकामा ३७ र अर्जुनचौपारी गाउँपालिकामा २५ जनामा संक्रमण देखिएको छ। भीरकोटमा १७, गल्याङमा १६ र पुतलीबजारमा ६ जनामा संक्रमण पुष्टि भएको छ।
फेदीखोला, आँधीखोला, बिरुवा र हरिनास गाउँपालिकामा भने पछिल्ला तीन महिनामा स्क्रब टाइफस संक्रमणको संख्या शून्य रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जिल्लामा संक्रमणको संख्या बढ्दै गएको र अवस्थालाई नियमित रूपमा अद्यावधिक गरिएको छ। स्वास्थ्यकर्मीले वर्षायाम र वर्षापछिको समयमा स्क्रब टाइफसको जोखिम बढी हुने भएकाले ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्नेलगायतका लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन आग्रह गरेका छन्।

