म्याग्दीको नारच्याङमा भीषण हावाहुरी, जलविद्युत् आयोजना र बस्तीमा ठूलो क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा चलेको भीषण हावाहुरीले घर, विद्यालय, जलविद्युत् आयोजना र पर्यटकका अस्थायी आवासमा ठूलो क्षति पुर्‍याएको छ। मंसिर ८ गते बिहान करिब १२ बजेर १५ मिनेटदेखि चलेको हावाहुरीले १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्पका संरचना भत्काएको छ। नेपाली सेनाको इन्द्रबक्स गण, जोमसोमबाट खटिएको टोलीका लागि बनाइएका आवास, भान्सा, मेस, मनोरञ्जन हल, शौचालय तथा सेन्ट्री पोस्टमा क्षति पुगेको आयोजनाले जनाएको छ।

हावाहुरीले आयोजनामा निर्माण कार्य गरिरहेको कम्पनीको गोदाम र कर्मचारी आवासका छाना तथा भित्तासमेत उडाएको छ। यसबाट सुरुङ उत्खननलगायत निर्माणका काम प्रभावित हुने आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताउनुभएको छ। त्यस्तै, भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयको कक्षाकोठाको छाना उडेको छ। स्थानीय महलबहादुर गर्बुजाको दुईतले घरको छाना पनि हावाहुरीले उडाएको छ। नारच्याङ र आसपासका बस्तीका अन्य घरगोठमा समेत क्षति पुगेको छ। हावाहुरीले सुन्तलाका दाना झारिदिएपछि किसानसमेत चिन्तित बनेका छन्।

अन्नपूर्ण आधार शिविर क्षेत्रमा पर्यटकका लागि राखिएका १२ वटा टेन्ट पनि हावाहुरीले उडाएको छ। पञ्चकुण्ड ताल परिसर र भुसकेटमा राखिएका टेन्ट उडेपछि पदयात्रामा रहेका पर्यटकलाई रात बिताउन समस्या भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिनुभएको छ।

यसैबीच, मौसमविद्का अनुसार उत्तरी म्याग्दी र मुस्ताङ क्षेत्रमा सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म प्रतिसेकेन्ड अधिकतम ४ दशमलव १ मिटरको गतिमा हावा मापन गरिएको थियो। हावाहुरीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ। प्राकृतिक विपद्का कारण यसअघि पनि बाढीपहिरोबाट प्रभावित हुँदै आएको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण कार्यमा थप असर पर्ने देखिएको छ। करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना १८० मेगावाट क्षमताको हो।

Facebook Comments Box