इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

काठमाडौं । इजिप्टको राजधानी कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझ कायरोको उत्तरी क्षेत्रमा पर्ने वर्राक क्षेत्रमा रहेको रिङरोडमा इन्धन ट्यांकर दुर्घटनापछि आगलागी भएको हो।

घटनामा घाइते भएकाहरूलाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ। उनीहरूमध्ये केहीको शरीर जलेको छ भने केहीलाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएको छ। आगलागीका कारण घटनास्थल आसपासका केही सवारीसाधनसमेत जलेका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार ट्यांकर पल्टिएपछि पेट्रोल सडकमा पोखिएको र त्यसपछि आसपासका सवारीसाधनमा आगो फैलिएको थियो।

सरकारी अखबार अल–अहरामले अनुसन्धानसँग जानकार स्रोतलाई उद्धृत गर्दै ट्यांकर गुडिरहेका बेला अगाडि उच्च भोल्टेजको विद्युत् तार खसेपछि चालकले नियन्त्रण गुमाएको जनाएको छ। त्यसपछि ट्यांकर डिभाइडर पार गर्दै पल्टिएको र आगलागी भएको समाचारमा उल्लेख छ।

घटनाबारे क्षेत्रीय सरकारी अभियोजन कार्यालयले अनुसन्धान सुरु गरेको छ। मृतकहरूको पहिचान खुलाउन शवबाट डीएनए नमुना संकलन गर्नसमेत निर्देशन दिइएको छ । इजिप्टमा पछिल्ला वर्षहरूमा आगलागीका घातक घटना दोहोरिँदै आएका छन्। जीर्ण पूर्वाधार र आपत्कालीन उद्धारमा हुने ढिलाइका कारण यस्ता घटनामा क्षति न्यूनीकरण गर्न चुनौती हुने गरेको बीबीसीले जनाएको छ।

Facebook Comments Box