रौतहटको सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद

रौतहट । रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका जस्ता देखिने २७ थान गोली बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपालअन्तर्गत सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त गस्ती टोलीले मङ्गलबार सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा गोली फेला पारेको हो ।

गस्ती टोलीले कानुपट्टी सीमा क्षेत्रमा बेवारिसे अवस्थामा रहेको सेतो प्लास्टिकको झोलाभित्र गोली फेला पारेको जनाएको छ । बरामद गोली कसले, कुन प्रयोजनका लागि र कसरी त्यहाँ छाडेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ । घटनाबारे थप अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सशस्त्र प्रहरीले जनाएको छ ।

Facebook Comments Box