एमालेको राष्ट्रिय भेला आजदेखि, स्थानीय तह निर्वाचनको तयारीमा छलफल हुने
काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने भेलामा सहभागी हुन अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका छन् । राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा दिन तथा आगामी स्थानीय तह निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ ।
भेलामा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्ने तथा पार्टीले गर्नुपर्ने १५ वटा कामका विषयमा छलफल हुने उहाँले बताउनुभयो । भेलाका एजेन्डालाई पार्टीको स्थायी कमिटी बैठकले अनुमोदन गरिसकेको छ । भेलामा केन्द्रीय कमिटी सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका पदाधिकारी, सङ्घीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन् ।
भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । भेलालाई वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शङ्कर पोखरेलले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ ।

