जब्दीघाटमा ६७ करोडभन्दा बढी लागतमा नयाँ पुल बन्ने
बर्दिया – बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ। सडक डिभिजन कार्यालय नेपालगञ्ज र चितवनको एमआर एन्ड ग्रुपबीच गत कात्तिक १६ गते पुल निर्माणसम्बन्धी सम्झौता भएको हो। सम्झौताअनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ।
६७ करोड ४५ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण हुने पुल दुई लेनको हुनेछ। पुल ४२० मिटर लामो र ११ मिटर चौडा रहनेछ। निर्माण कम्पनीले सम्झौता भएको नौ महिनाभित्र माटो परीक्षण प्रतिवेदन र पुलको डिजाइन स्वीकृत गराउनुपर्नेछ। पुरानो पुल निर्माण पूरा नहुँदै २०७२ सालको बाढीले भासिएको थियो।
त्यसपछि साना सवारीसाधन र पैदलयात्रीले जोखिम मोलेर आवतजावत गर्दै आएका थिए। तर २०७९ सालको बाढीले पुलका तीनवटा स्ल्याब बगाएपछि आवागमन पूर्ण रूपमा बन्द भएको सडक डिभिजन कार्यालयले जनाएको छ। हाल स्थानीयवासी शुल्क तिरेर डुङ्गा वा काठे पुलबाट नदी वारपार गर्न बाध्य छन्। बर्खायाममा बबई नदीमा बाढी आउँदा आवतजावत झनै कठिन हुने गरेको छ।
पुल नहुँदा गुलरिया नगरपालिका–४ का बासिन्दा सदरमुकाम पुग्न करिब १० किलोमिटर घुमेर जानुपर्ने अवस्था छ। नयाँ पुल निर्माणको ठेक्का सम्झौता भएपछि वर्षौंदेखिको आवागमन समस्या अन्त्य हुने स्थानीयवासीले आशा व्यक्त गरेका छन्। बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारुले पनि निर्माण कार्य तत्काल सुरु गरी निर्धारित समयभित्र सम्पन्न गर्नुपर्ने बताउनुभएको छ।

