टमाटरखेतीबाट वार्षिक एक करोड २० लाखभन्दा बढी आम्दानी गर्दै टोड्केका किसान

इलाम । इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ । गाउँका ८० घरपरिवार टमाटरखेतीमा संलग्न छन् भने यहाँबाट वार्षिक एक करोड २० लाख रुपैयाँभन्दा बढीको टमाटर बिक्री हुने गरेको छ । अन्य अन्नबालीको तुलनामा टमाटरखेतीबाट राम्रो आम्दानी हुन थालेपछि स्थानीय किसान यसतर्फ आकर्षित भएका हुन् ।

स्थानीय किसान प्रदीप राईले विगत १० वर्षदेखि व्यावसायिक रूपमा टमाटरखेती गर्दै आउनुभएको छ । गत वर्ष साढे चार हजार बोटबाट साढे तीन लाख रुपैयाँ आम्दानी गर्नुभएका उहाँले यस वर्ष १५ रोपनी जमिनमा सात हजार पाँच सय बोट लगाउनुभएको छ । यस वर्ष करिब १० हजार किलो टमाटर उत्पादन हुने उहाँको अनुमान छ ।

त्यस्तै, किसान मनिषा राईले गत वर्ष टमाटर बिक्रीबाट चार लाख रुपैयाँ आम्दानी गर्नुभएको थियो । यस वर्ष उहाँले तीन हजार बोट लगाउनुभएको छ । अर्का किसान विनोद राईले पनि यस वर्ष पाँच हजार बोट टमाटर लगाउनुभएको छ । वडाध्यक्ष प्रदीप साङपाङका अनुसार टोड्केका ८० वटै घरपरिवार व्यावसायिक टमाटरखेतीमा संलग्न छन् । उहाँले टोड्केलाई टमाटरको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको बताउनुभएको छ ।

टोड्केमा मुख्यतः असोजदेखि पुससम्म टमाटर उत्पादन हुने गर्दछ । रोपेको करिब ७० दिनमा फल दिन सुरु गर्ने एउटा बोटबाट छ किलोसम्म उत्पादन हुने किसानको अनुभव छ । यहाँ उत्पादित टमाटर स्थानीय चिसोपानी पञ्चमी बजार हुँदै झापाको दमकसम्म पुग्ने गरेको छ । व्यापारीले बगानबाटै टमाटर खरिद गरेर लैजाने भएकाले बजारको समस्या नरहेको किसान बताउँछन् ।

यातायात सुविधा सहज हुँदै गएपछि उत्पादन बजारसम्म पुर्‍याउन पनि सजिलो भएको छ । टमाटरखेतीबाट राम्रो आम्दानी हुन थालेपछि टोड्केका किसानको आर्थिक अवस्था सुधार हुनुका साथै गाउँ नै व्यावसायिक कृषितर्फ अघि बढेको छ ।

Facebook Comments Box