मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि त्रिवेणीधाममा एकमहिने महायज्ञ सुरु
नारायणगढ । मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सम्पन्न भएको छ । देशका प्रमुख धार्मिकस्थलको परिक्रमा गर्दै पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेको रथयात्रा सोमबार नवलपुरस्थित गजेन्द्रमोक्ष दिव्यधाम अर्थात् त्रिवेणीधाम आइपुगेपछि सम्पन्न भएको हो ।
मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा सुरु भएको रथयात्राका क्रममा मेची र महाकालीको जलसमेत सङ्कलन गरिएको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिनुभएको छ । उक्त जल गण्डकी नदीमा अर्पण गरिने उहाँले बताउनुभयो ।रथयात्रा सम्पन्न भएसँगै आजदेखि त्रिवेणीधाममा एकमहिने महायज्ञ सुरु हुँदैछ । महायज्ञको पहिलो दिन सामूहिक गौपूजा, गण्डकी पूजन, कलश यात्रा, कन्या पूजा तथा दीप प्रज्वलनलगायत कार्यक्रम आयोजना गरिनेछ ।
मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यका अनुसार महायज्ञ अवधिभर धान्याचल, पितृमुक्ति यज्ञ, हवन तथा श्रीमद्भागवत प्रवचनलगायत धार्मिक अनुष्ठान सञ्चालन गरिनेछ । प्राकृतिक विपत्ति, सडक दुर्घटना, आन्दोलन, अतिवृष्टि, अनावृष्टि तथा कोरोना महामारीलगायत विभिन्न कारणले दिवङ्गत भएकाहरूको आत्माको उद्धार र शान्तिको कामनासहित महायज्ञ आयोजना गरिएको उहाँले बताउनुभएको छ । स्वामी कमलनयनाचार्यले महायज्ञमा सहभागी भई यज्ञशालाको परिक्रमा, जप तथा ध्यान गर्न भक्तजनलाई आग्रह गर्नुभएको छ ।

