पर्यटकको पर्खाइमा रसुवाको डिल्पु कुण्ड, प्रचारप्रसार र पूर्वाधारको अभाव
रसुवा । हिमाली जिल्ला रसुवामा रहेको डिल्पु कुण्ड पर्याप्त प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो कुण्ड नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने सम्भावना बोकेर बसेको छ । समुद्री सतहबाट करिब ४ हजार ५ सय ५० मिटरको उचाइमा रहेको डिल्पु कुण्ड आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत साञ्जेन हिमालको काखमा अवस्थित छ ।
स्थानीयस्तरमा पाल्दोर कुण्डका नामले समेत चिनिने यस कुण्डमा हिमालबाट निरन्तर पानी भरिने गर्दछ । स्वच्छ र पारदर्शी पानी, वरिपरिका अल्पाइन घाँसेमैदान, चट्टानी भूभाग र हिमाली वनस्पतिले कुण्डको प्राकृतिक सुन्दरता थप आकर्षक बनाएको छ । मौसम सफा भएका बेला यहाँबाट विभिन्न हिमशृङ्खलाको मनोरम दृश्यसमेत अवलोकन गर्न सकिन्छ ।
प्राकृतिक सुन्दरतासँगै डिल्पु कुण्डको धार्मिक तथा सांस्कृतिक महत्व पनि उत्तिकै छ । स्थानीय तामाङ समुदायले यसलाई पवित्र तीर्थस्थलका रूपमा मान्दै विशेष पर्व तथा अवसरमा पूजाआजा र धार्मिक अनुष्ठान गर्ने परम्परा रहिआएको छ । काठमाडौँबाट धुन्चे हुँदै चिलिमे पुगेर त्यहाँबाट पैदल यात्रा गरी डिल्पु कुण्ड पुग्न सकिन्छ ।
वैशाख, जेठ तथा असोज–कात्तिक महिना भ्रमणका लागि उपयुक्त मानिन्छ । यद्यपि, पदमार्गमा सङ्केत बोर्ड, खानेपानी, बासस्थान र फोहर व्यवस्थापनको उचित प्रबन्ध नहुँदा पर्यटकलाई समस्या हुने गरेको छ । रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले डिल्पु कुण्डलाई पार्वतीकुण्ड र साञ्जेन क्षेत्रका अन्य पर्यटकीय गन्तव्यसँग जोडेर एकीकृत पदमार्गका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले आवश्यक पूर्वाधार निर्माण, पदमार्ग सुधार र प्रचारप्रसार गर्न सके स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढ्नुका साथै स्थानीय रोजगारी र अर्थतन्त्रमा समेत टेवा पुग्ने बताउनुभयो । यस्तै, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले डिल्पु कुण्डको प्राकृतिक तथा सांस्कृतिक महत्व संरक्षण गर्दै पदमार्ग व्यवस्थापन, सङ्केत बोर्ड स्थापना र आधारभूत पूर्वाधार निर्माणलाई योजनाबद्ध रूपमा अघि बढाउने बताउनुभएको छ । पर्यटकीय सम्भावना बोकेको डिल्पु कुण्डको उचित संरक्षण र प्रवर्द्धन गर्न सके रसुवाको पर्यटनमा नयाँ गन्तव्य थपिने अपेक्षा गरिएको छ ।

