आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशको हिमाली भूभाग र कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ ।

कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार पनि कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

Facebook Comments Box