मकवानपुरमा माइक्रोबस दुर्घटना, १० जना गम्भीर घाइते

काठमाडौं । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेका अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आज बिहान करिब पौने ६ बजे काठमाडौँ–कुलेखानी–भीमफेदी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६, चिसापानी गढी नजिक माइक्रोबस दुर्घटनामा परेको हो।

माइक्रोबस सडकबाट करिब पाँच सय मिटर तल खसेको छ। दुर्घटनामा घाइते भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ। घटनास्थलमा रहेका प्रहरीका अनुसार १० जना गम्भीर घाइते अवस्थामा फेला परेका छन्। भीरमा दुर्घटना भएकाले अन्य यात्रुको खोजी तथा उद्धारमा कठिनाइ भइरहेको छ। दुर्घटनामा परेको माइक्रोबसको नम्बर खुल्न सकेको छैन। उक्त माइक्रोबसमा करिब १३ देखि १४ जना यात्रु सवार रहेको प्रहरीको अनुमान छ।

Facebook Comments Box