झापाको बाहुनडाँगीमा जङ्गली हात्तीको त्रास, सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

काठमाडौँ । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित प्रसाद गौडाबाट जङ्गली हात्ती नेपाल प्रवेश गर्न थालेपछि सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। भारतबाट नेपाल प्रवेश गर्ने हात्तीले स्थानीयवासीका घर भत्काउने र पाकेको धानबाली खाने गर्न थालेपछि सम्भावित क्षति रोक्न सुरक्षा व्यवस्था कडा पारिएको हो।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार हात्तीलाई नेपाल प्रवेश गर्न नदिन बुधबारदेखि नै सशस्त्र प्रहरी, नेपाल प्रहरी, वन कर्मचारी र स्थानीयवासी परिचालन गरिएको छ। हात्ती नियन्त्रण तथा निगरानीका लागि १० भन्दा बढी साना साइरन, विभिन्न सुरक्षा निकायका ठूला साइरन, ९० भन्दा बढी लाइट, तीनवटा ट्याक्टर र १० भन्दा बढी मोटरसाइकल परिचालन गरिएको प्रशासनले जनाएको छ।

सशस्त्र प्रहरी बलको बाहुनडाँगीस्थित सीमा सुरक्षा टोली, डिभिजन वन कार्यालयका कर्मचारी र स्थानीय किसानले संयुक्त रूपमा निगरानी गरिरहेका छन्। स्थानीय प्रशासनले हात्तीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सीमावर्ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

Facebook Comments Box