बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

काठमाडौँ । गत भदौमा भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित रसुवाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ। बाढीले सडक तथा पदमार्गमा क्षति पुर्‍याएपछि सुस्ताएको पर्यटन व्यवसाय आवागमन सहज बन्दै गएसँगै पुरानै लयमा फर्किन थालेको हो।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ। पर्यटक बढेपछि होटल व्यवसायी, पथप्रदर्शक, यातायात मजदुर तथा स्थानीय साना व्यवसायीलाई राहत पुगेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जले पनि आवागमन सहज भएसँगै गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको चहलपहल नियमित हुन थालेको जनाएको छ।

समुद्री सतहबाट चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र हो। प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र जैविक विविधताका कारण यो क्षेत्र पर्यटकको आकर्षण बन्दै आएको छ। गोसाइँकुण्ड आसपास भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, चन्द्रकुण्डलगायत अन्य कुण्ड पनि रहेका छन्।

यस क्षेत्रलाई सन् २००७ मा रामसार सूचीमा समेत सूचीकृत गरिएको थियो। स्थानीय पर्यटन व्यवसायीले पदमार्गको दिगो स्तरोन्नति, सञ्चार सुविधा र आधारभूत पूर्वाधार विकास गर्न सके गोसाइँकुण्डको पर्यटनले थप गति लिने अपेक्षा गरेका छन्।

Facebook Comments Box