काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्यो, आइतबारसम्म अस्वस्थकर रहने अनुमान
काठमाडौं । सुक्खा मौसम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ। वायु गुणस्तर मापन गर्ने संस्था आईक्यूएयरका अनुसार शुक्रबार बिहान उपत्यकाको वायु गुणस्तर सूचकांक एक सय ११ पुगेको छ। बिहीबार मध्यबानेश्वर क्षेत्रमा एक्यूआई एक सय ५३ सम्म पुगेको थियो। शुक्रबार बिहान पनि स्वयम्भू, बालाजु, टेकु, थापाथली, चाबहिल, असन, लैनचौरलगायत उपत्यकाका विभिन्न स्थानमा वायु गुणस्तर अस्वस्थकर तहमा रहेको छ। आगामी आइतबारसम्म प्रदूषणको अवस्था यस्तै रहने पूर्वानुमान गरिएको छ।
सुक्खा मौसममा वर्षा कम हुने र हावामा धुलो तथा प्रदूषित कण बढ्ने भएकाले वायु गुणस्तर खस्किएको हो। प्रदूषणका कारण बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्ने भएकाले सतर्कता अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। यसैबीच, छिमेकी भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषण झनै गम्भीर बनेको छ। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार शुक्रबार बिहान दिल्लीको एक्यूआई चार सय २२ पुगेको छ।
एक्यूआई चार सय एकदेखि पाँच सयसम्म पुग्नुलाई गम्भीर अवस्था मानिन्छ। यस्तो प्रदूषित हावाले स्वस्थ व्यक्तिसमेत प्रभावित हुन सक्ने र बिरामीमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने जनाइएको छ। काठमाडौं महानगरपालिकाले पनि वायु प्रदूषण बढाउने गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ।

