एनपीएलमा पोखराको लगातार दोस्रो हार, जनकपुर ९ रनले विजयी

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा पोखरा एभेन्जर्सले लगातार दोस्रो हार बेहोरेको छ। आइतबार भएको खेलमा पोखरा जनकपुर बोल्ट्ससँग ९ रनले पराजित भएको हो। जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो। पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

बलिङमा पोखराका विदेशी खेलाडी शाकिब अल हसनले ३ विकेट लिए भने चमिका करुणारत्नेले २ तथा महेदी हसन र मोहम्मद सैफुद्दिनले १–१ विकेट लिए। पहिले ब्याटिङ गरेको जनकपुरले तृतराज दासको ६१ रनको मद्दतमा २० ओभरमा १४७ रन बनाएको थियो। ५५ बल खेलेका दासले टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याएका थिए। उनी खेलको प्लेयर अफ द म्याच घोषित भए।

जनकपुरका लागि मोइन अलीले ३ विकेट लिए भने हर्मीत सिंह र सेफ हसनले २–२ तथा जिमी निसम र ललित राजवंशीले १–१ विकेट लिए। यस जितसँगै जनकपुरले तीन खेलमा दोस्रो जित निकालेको छ। पोखराले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ। यसअघि पोखरा आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।

Facebook Comments Box