कालीगण्डकीको बाढीले रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीस्थित प्राकृतिक तातोपानी कुण्ड कालीगण्डकी नदीको बाढी र कटानका कारण बगरमा परिणत भएको छ। असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले कुण्डका संरचना बगाएसँगै उपचार, स्नान र पर्यटकीय आकर्षणको केन्द्र बनेको कुण्डको अस्तित्व मेटिएको हो।
अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काका अनुसार कुण्डको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा विगत नौ वर्षमा गरिएको एक करोड रुपैयाँभन्दा बढीको लगानी बाढीले नष्ट गरेको छ। कुण्ड रहेको स्थानबाट अहिले कालीगण्डकी नदी बगिरहेको छ भने तातोपानीको मुहान पनि पुरानो स्थानबाट करिब ३० मिटर तल सरेको छ।
बाढीले नदी कटान रोक्न बनाइएको पक्की पर्खाल, स्नानका लागि निर्माण गरिएको पोखरी, टहरा, विश्रामस्थल र शौचालयलगायत संरचनामा क्षति पुर्याएको छ। चालु आर्थिक वर्ष २०८३/८४ मा कुण्ड सञ्चालनका लागि चार लाख पाँच हजार रुपैयाँमा ठेक्का सम्झौतासमेत भएको थियो।
तातोपानी कुण्ड नष्ट भएपछि स्थानीय बजार र होटल व्यवसायमा समेत असर परेको छ। स्नान र उपचारका लागि आउने पर्यटक तथा बिरामीका कारण रातोपानी, पोखरेबगर र ठूलोबगरका व्यवसायले लाभ लिँदै आएका थिए। बाढीले भौतिक संरचनासँगै स्थानीयको रोजगारी र आयआर्जनका अवसरसमेत गुमाएको स्थानीयवासी दयाराम जिसीले बताउनुभयो। बेनी–जोमसोम सडक छेउमा रहेको उक्त मुहानबाट प्रतिसेकेन्ड ११ लिटरका दरले ५६ डिग्री सेल्सियस तापक्रमको पानी निस्कने गरेको थियो।
एक पटकमा ४० देखि ५० जनाले स्नान गर्न सक्ने क्षमताको पोखरी निर्माण गरिएको थियो। यहाँ चोटपटक, ग्यास्ट्रिक तथा चिसोका कारण हुने स्वास्थ्य समस्याबाट राहत पाउने आशामा समेत मानिसहरू आउने गरेका थिए। कुण्ड रहेको स्थानमा पुनर्निर्माण गर्न कठिन हुने देखिएपछि मुहानबाट पानी ल्याएर अन्यत्र स्नानस्थल निर्माण गर्ने विकल्पबारे छलफल सुरु गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभएको छ।

