वीरगन्ज–रक्सौल सीमाबाट ११ किलोभन्दा बढी चरेससहित नेपाली नागरिक पक्राउ
रौतहट । वीरगन्ज–रक्सौलबीचको मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध लैजान लागेको विशेष सूचनाका आधारमा एसडीपीओ मनिषकुमार आनन्दको कमान्डमा प्रहरी र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोली परिचालन गरिएको थियो।
टोलीले शनिबार साँझ वीरगन्जबाट रक्सौलतर्फ जाँदै गरेको शङ्कास्पद ई–रिक्सा रोकेर जाँच गरेको थियो। जाँचका क्रममा रिक्साभित्र रहेको बोराबाट २२ वटा कालो प्याकेटमा प्याक गरिएको ११ किलो २४६ ग्राम चरेस बरामद भएको भारतीय प्रहरीले जनाएको छ। चरेससहित पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–छपकैया निवासी ३९ वर्षीय अमर चौधरी रहेका छन्।
एसएसबीका अनुसार चौधरीलाई बरामद चरेससहित आवश्यक कानुनी कारबाहीका लागि रक्सौलस्थित हरैया थानाको जिम्मा लगाइएको छ। प्रहरीका अनुसार बरामद लागूऔषध मकवानपुरका विभिन्न स्थानबाट ल्याएर बारा र पर्सा हुँदै भारततर्फ लैजान खोजिएको प्रारम्भिक विवरण छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

