बाढीपहिरोका कारण देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ । बाढीपहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकमा यातायात अवरुद्ध भएको हो ।बाढीका कारण रसुवाका मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध छन् । अर्को सूचना जारी नभएसम्म सडक बन्द रहने प्रहरीले जनाएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा पहिरो जाँदा सडक एकतर्फी रूपमा सञ्चालनमा छ । गण्डकी प्रदेशमा बाढीका कारण बेँसीसहर हुँदै खाङसार जाने मनाङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ । बेनी–जोमसोम सडकखण्डको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो जाँदा यातायात पूर्ण रूपमा ठप्प छ ।

बेनी–दरबाङ सडकको बेनी नगरपालिका–४ घुमाउने भिरमा पनि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । मुस्ताङको जोमसोम–कोरला सडकखण्डअन्तर्गत थासाङ गाउँपालिका–४ काब्रेभिर र लो–घेकर दामोदरकुण्ड गाउँपालिका–२ मा पहिरो जाँदा सडक बन्द छ ।

नवलपरासी पूर्वमा कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार गाउँपालिका–६ सेल्फीडाँडा–घुमाउरीघाटमा सडक एकतर्फी सञ्चालनमा छ । बौदीकाली गाउँपालिका–३ जन्ती पहिरो क्षेत्रमा पनि सडक एकतर्फी सञ्चालनमा रहेकामा ठूला सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था छैन ।

कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मुसेडी र सर्केगार्ड गाउँपालिका–६ स्यालतडीमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, सिमकोट–हिल्सा सडकखण्डअन्तर्गत नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडोढुङ्गामा पहिरोका कारण यातायात पूर्ण रूपमा ठप्प रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box