नारायणी पुलमा सबै प्रकारका सवारीसाधनको आवागमन खुला
नवलपुर । बाढीले बगाएर ल्याएको राइनो क्रुज जहाज पुलमुनि अड्किएपछि बन्द गरिएको नारायणी पुलमा सवारीसाधनको आवागमन खुला गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै यसअघि रातिको समयमा साना तथा अत्यावश्यक सवारीसाधनलाई मात्र आवागमन गर्न दिइएको थियो भने ठूला तथा मालवाहक सवारीसाधनमा रोक लगाइएको थियो। इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार अहिले अवस्था हेरेर पुलमा सबै प्रकारका सवारीसाधनलाई वारपार गर्न दिइएको छ।
बाढीले बगाएर ल्याएको क्रुज पुलको पिलरमा अड्किएपछि सुरक्षाका लागि पुलमा सवारी आवागमन बन्द गरिएको थियो। क्रुज भने अझै पुलको पिलरमै अड्किएको छ। प्रहरीका अनुसार बिहानैदेखि क्रेनको सहायताले नदीको बहावको अवस्था हेरी क्रुजलाई सकेसम्म किनारामा लग्ने प्रयास गरिनेछ। सम्भव नभए नदीको बहावसँगै क्रुजलाई बगाउने प्रयास गरिने प्रहरी निरीक्षक गिरीले बताउनुभयो।

