लालबकैया नदीको तटबन्ध कटान रोक्न सुरक्षा निकाय परिचालन

रौतहट । लगातारको भारी वर्षापछि लालबकैया नदीमा जलस्तर बढ्दा रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरस्थित तटबन्धमा कटान भएपछि त्यसलाई नियन्त्रण गर्न सुरक्षा निकाय र स्थानीय प्रशासन सक्रिय भएका छन्। तटबन्ध कटानका कारण मौलापुरका वडा नं. १ देखि ५ तथा बौधिमाई नगरपालिकाका वडा नं. १, २ र ३ का विभिन्न क्षेत्र डुबानको उच्च जोखिममा परेका छन्। जोखिमलाई ध्यानमा राख्दै तटबन्ध मर्मत तथा संरक्षणको काम तीव्र पारिएको छ।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, नेपाली सेनाका मध्यपूर्वी पृतना महोत्तरीका पृतनापति उपरथी भुवन केसी, मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारी र सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी विष्णुप्रसाद भट्टलगायतले आइतबार साँझ तटबन्धको स्थलगत अनुगमन गर्नुभएको छ।

अनुगमनका क्रममा मन्त्री महतोले लालबकैया नदीको तटबन्धमा भइरहेको कटान रोक्न तथा क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रशासनका अनुसार मर्यादपुरस्थित तटबन्धमा ठूलो क्षति पुगे मौलापुरसँगै गम्हरिया, बरगिनिया, शीतलपुर, सन्तपुर र पेटभरवा क्षेत्र प्रभावित हुन सक्छन्। फतुवा पुल नजिक भगवानपुर क्षेत्रमा रहेको तटबन्ध भत्किए बाढीको पानी सदरमुकाम गौरसम्म पुग्न सक्ने जोखिमसमेत रहेको अधिकारीहरूले बताएका छन्।

कटान रोक्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सुरक्षाकर्मी र स्थानीयवासीले राजपुर तथा मर्यादपुर क्षेत्रमा बाँस गाड्ने र बालुवा भरिएका बोरा राखेर पानीको बहाव नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। लगातार वर्षा भइरहेकाले लालबकैया नदीको जलस्तर थप बढ्न सक्ने भन्दै प्रशासनले नदी तथा तटबन्ध आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान र बाढीको सूचना प्राप्त भए तत्काल सुरक्षित स्थानमा जानसमेत प्रशासनले अनुरोध गरेको छ।

Facebook Comments Box