हिमाली र पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली भू-भागमा सामान्य बदली भएको छ । पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सोमबार देशभर आंशिक बदली रहने अनुमान गरिएको छ । हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । वर्षा तथा हिमपातको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

