सिद्धबाबा सुरुङमार्ग मङ्सिर १५ भित्र सञ्चालन गर्ने तयारी
पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिर १५ गतेभित्र सवारी सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिइएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउँदै सवारी सञ्चालनको तयारी अघि बढाएको हो । आयोजना प्रमुख नवराज बास्तोलाका अनुसार बर्खा र भोटेकोशी बाढीका कारण निर्माण सामग्री ल्याउन ढिलाइ भएकाले पूर्वनिर्धारित समय केही पछाडि धकेलिएको हो ।
हाल सुरुङभित्र सडक पिच गर्ने काम सम्पन्न भई रङरोगन भइरहेको छ भने टेक्निकल भवनको फिनिसिङको काम जारी छ । लाइनिङसहितका सिभिल संरचनाको काम सम्पन्न भइसकेको र अब इलेक्ट्रोमेकानिकलतर्फका केही काम बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ ।
योजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सौम्य आनन्दका अनुसार आयोजनाको भौतिक प्रगति ६९ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ५५ प्रतिशत पुगेको छ । मुख्य सुरुङ तथा बाइपास सुरुङ खन्ने, लाइनिङ, १४ वटा कल्भर्ट र सुरुङभित्रको प्रिमेन्टसम्बन्धी काम सम्पन्न भइसकेको छ ।
सुरुङमार्गमा तीनवटा बाइपास निर्माण गरिएको छ । भित्री काम सम्पन्न भएपछि बाहिरी सडक क्षेत्रलाई सुरक्षित बनाउने काम अघि बढाइनेछ । पहिरोबाट सुरुङको बाहिरी भाग जोगाउन रकसेड, रकफल बेरियर तथा स्लोप प्रोटेक्सनका संरचना निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ ।
एक हजार १२६ मिटर लामो सुरुङमार्ग निर्माणका लागि २०७८ फागुनमा ठेक्का सम्झौता भएको थियो भने २०७९ देखि निर्माण सुरु गरिएको हो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारमा निर्माणको जिम्मा लिएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्मको क्षेत्र पहिरो तथा ढुङ्गा खस्ने जोखिमका कारण जोखिमपूर्ण मानिन्छ । सुक्खायाममा समेत सुक्खा पहिरो खस्ने भएकाले उक्त क्षेत्रलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो ।
सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा पहिरो तथा ढुङ्गा खस्ने जोखिमका कारण हुने यातायात अवरोध कम हुने अपेक्षा गरिएको छ । यसबाट लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा र प्यूठान तथा गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

