कैलालीमा अवैध सामानसहित भारतीय मिनी ट्रक नियन्त्रणमा
धनगढी । कैलालीमा भन्सार छली भारतबाट ल्याइएको ३१ लाख ७२ हजार रुपैयाँ बराबरको अवैध सामानसहित भारतीय नम्बर प्लेटको मिनी ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट बिहीबार दिउँसो मोटरसाइकलका टायर, ट्युब र घाँस काट्ने मेसिनसहित २६ लाख २५ हजार रुपैयाँ बराबरका सामान र मिनी ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण धनगढीको संयुक्त टोलीले ट्रकका चालक भारतको लखिमपुर खिरीका ३८ वर्षीय चन्द्रकुमार बर्मालाई पनि नियन्त्रणमा लिएको हो । यसैगरी, कैलालीका विभिन्न स्थानबाट थप पाँच लाख ४७ हजार ५० रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
पेय पदार्थ, सुर्ती, बिडी, गुट्खा, कपडा, विद्युतीय तथा किराना सामान बेवारिसे अवस्थामा बरामद गरिएको हो । बरामद ट्रक, सामान र चालकलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगर पठाइएको प्रहरीले जनाएको छ ।

