आज चार संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज सङ्घीय संसद्अन्तर्गत विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो ।
शुक्रबार दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव तथा जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ । बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन तथा भ्रमणलगायत समसामयिक विषयमा छलफल गर्न समितिको आन्तरिक बैठकसम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची छ ।
यस्तै, बिहान १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान १०ः३० बजे बस्नेछ । बैठकमा गत भदौ १० गते भोटेकोशीलगायत नदीमा आएको बाढी तथा जलवायु परिवर्तनको असरलगायत विषयमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

