आज छ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ, २६ भदौ – सङ्घीय संसद् अन्तर्गतका विभिन्न छ वटा संसदीय समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक बिहान साढे ९ बजे बस्नेछ । बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ । छलफलका लागि अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई बोलाइएको छ ।
महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाढी प्रभावित क्षेत्र, राहत शिविर तथा अस्थायी आश्रयस्थलमा रहेका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा जोखिममा रहेका समूहको संरक्षणका विषयमा छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत भएको क्षति, उद्धार, राहत तथा पुनःस्थापनाका काम र आगामी रणनीतिबारे छलफल हुनेछ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिउँसो सवा १२ बजे बस्नेछ । बैठकमा जलवायु परिवर्तनका कारण नेपालमा परेको क्षति तथा आगामी जलवायु परिवर्तन सम्मेलन र अन्तर्राष्ट्रिय कूटनीतिक प्रवर्द्धनका विषयमा विज्ञ तथा सरोकारवालासँग छलफल गरिनेछ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि दफावार छलफल हुनेछ । यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ । बैठकमा सङ्घीयता कार्यान्वयन तथा सबलीकरणका विषयमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

