इजरायलमा १ हजार ४६४ सहायक कामदारका लागि आवेदन खुल्यो

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका व्यक्तिको हेरचाहका लागि सहायक कामदारमा आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागका अनुसार इजरायलका लागि १ हजार ४६४ जना नेपाली कामदार माग गरिएको छ। माग भएकामध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष छन्।

आवेदन दिनका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक नेपाली नागरिकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटअन्तर्गत रहेको ferms.dofe.gov.np मार्फत दिन सकिनेछ।

छनोट भएका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा तलब पाउनेछन्। इजरायली सरकारको नियमअनुसार ओभरटाइम सुविधा पनि उपलब्ध हुने विभागले जनाएको छ। कामदारले सातामा ४२ घण्टा काम गर्नुपर्नेछ भने सातामा एक दिन बिदा पाउनेछन्। वार्षिक बिदा इजरायली कानुनअनुसार हुनेछ। कामदारका लागि खानाको व्यवस्था रोजगारदाताले नगर्ने भए पनि बस्ने व्यवस्था कम्पनीले गर्नेछ। भने आवासको खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ।

Facebook Comments Box